मोचनको बिमोचन आज हुँदै

तुलसी आचार्य द्वारा लिखित उपन्यास मोचनको बिमोचन प्रज्ञा-प्रतिष्ठान भवनको लाईब्रेरी हल, काठमान्डू कमलादीमा आज दिउँसो १ बजे हुँदैछ ।
कार्यक्रम आयोजकका अनुसार उक्त कार्यक्रम अनौपचारिक रुपमा गरिनेछ भने मोचन माथि करिव १ घण्टा जति बिचार बिमर्श गरिनेछ ।
उक्त कार्यक्रमका प्रस्त्तोताहरूमा सञ्चारकर्मी ए पी वानका टिकाराम यात्री, समालोचक तथा प्राध्यापक कवि महेश पौड्याल र ज्ञानु अधिकारी र कार्यक्रम सञ्चालक सरोज घिमिरे रहेका छन् ।
“पारिजातको ‘शिरीषको फूल’लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि,” उपन्यासको बारेमा उक्त उपन्यासको पाण्डूलिपि पढेका मुक्तिनाथ घिमिरे बताउँछन् ।
“जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतीले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ ,” उनि भन्छन । “यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङुग प्रस्तुत छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढुदो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ । स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान ‘इपिफेनी’ नै यो उपन्यासको कथ्य हो । उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम–घृणा–प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ ।
भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङुगले प्रस्तुत गरेको छ ।”
लेखक आचार्यको यो नेपाली भाषाको पहिलो उपन्यास हो भने अंग्रेजी उपन्यास “रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड” पछिको दोस्रो हो । उनको अंग्रेजी गैर आख्यान पुस्तक “सेक्स, जेण्डर र डिसेबिलिटि” भन्ने पुस्तक लण्डनको प्रकाशन रुट्लेजले विस्व बजारमा ल्याइसकेको छ ।
साहित्य तथा सृजनशील लेखनमा स्नातकोतर गरेका आचार्यका पुस्तक अनलाईन गुगल गरेर पनि किन्न सकिन्छ वा यी दुईवटा वेब्साईटमा गएर पनि हेर्न सकिन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस