पुरानै लयमा फर्किदै छ बेनीको बजार


‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ । चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार कोभिड–१९ को सङ्क्रमणको दर कम हुँदै गएपछि पुनः पुरानै लयमा फर्किन सुरु गरेको छ ।

म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरुपले सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रुपमा बेनी बजार रहेको छ ।

कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६ साल चैत ११ गतेदेखि लकडाउन गरिएपछि यहाँको चहलपहल शून्य भएको थियो । तर, गत भदौदेखि सङ्क्रमण दर घटेसँगै बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धौलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई वर्षपछि पुनः चहलपहल बढेको स्थानीयले बताएका छन् ।

कोभिड–१९ को त्रासका कारण पर्यटक आउनसक्ने वातावरण नभएपछि सुनसान वनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतीक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रुप लिएपछि व्यापार व्यवस्थितत गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ ।

 इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपवम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो ।

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती विश्वकर्माको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । उहाँले भन्नुभयो, “गोरखाले बेनी कब्जा मात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।” उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारीबेनी थियो । बागलुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो ।

बेनीमा स्कुल ÷ पाठशाला नखुल्दै पारी बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ ।

अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । अति महँगो बजारमध्येको बजार बन्न पुगेको छ बेनी बजार । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररुपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोवार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ ।

पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था बढेका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक रु चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटेल र यातायात क्षेत्रमा यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् ।

बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४.४५ जनघनत्व रहेको बेनी बजारमा २०६८ को जनगणनाको तथ्याङ्कअनुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope