ऊर्जा दक्षताको प्रवद्र्धनमा जोड


ऊर्जाको किफायती प्रयोग, कार्बन व्यापारबाट आर्थिक लाभ र जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि दिगो ऊर्जा सम्मिश्रणको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम(रिप) को आयोजनामा आज यहाँ आयोजित ‘नेपालमा दिगो ऊर्जा सम्मिश्रणको नयाँ स्रोतको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन’ विषयक राष्ट्रिय नीतिगत छलफल कार्यक्रमका सहभागी वक्ताले विद्युत् खपतमा वृद्धिसँगै त्यसको सही ढङ्गबाट उपयोग गर्न सकिएमा नै लाभ लिन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले सरकारले तीन वर्षअघि नै ऊर्जा दक्षतासम्बन्धी रणनीति ल्याइसकेको र त्यसको आधारमा अलग्गै ऐन ल्याउन लागेको उल्लेख गर्दै ऊर्जा दक्षताको प्रविधिगत विकाससँगै उपभोक्ताको व्यवहारमा पनि सुधार आउनुपर्दछ भन्नुभयो । केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले नेपालमा सन् १९८५ देखि नै ऊर्जा दक्षताको कार्य थालनी भएपनि पछिल्लो दशकदेखि नीतिगत व्यवस्था र कार्यक्रम कार्यान्वयन हुन थालेपछि निकै महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो । उहाँले तीन वर्षदेखि केन्द्रको कार्यादेशमा यसलाई समावेश गरिएपछि भएका विभिन्न प्रवद्र्धनात्मक कार्य, ऊर्जा लेखा परीक्षणका कार्यका बारेमा जानकारी दिनुभयो । अधिकारीले नेपालमा दिगो ऊर्जाको प्रवद्र्धनका लागि ऊर्जा दक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालस्थित जर्मन दूतावासका विकास साझेदारीका उपप्रमुख सिमोन म्याक्सिमिलियन हाइन्केलेले लामो समयदेखि जर्मन सरकारले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरबाट नेपाल नराम्ररी प्रभावित भएको अवस्थामा स्वच्छ ऊर्जाको प्रवद्र्धनमा निरन्तर सहयोग रहने छ भन्नुभयो । रिप कार्यक्रमका वरिष्ठ ऊर्जाविज्ञ डा नारायण चौलागाईंले ऊर्जा दक्षताको अर्थ ऊर्जा खपत कम गर्नु नभई त्यसको सही ढङ्गबाट उपयोग बढाउनु रहेको बताउँदै अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन, ऊर्जाको लागत कम गर्न र अन्य देश सरह प्रतिव्यक्ति खपत बढाउन ऊर्जा दक्षतामा जोड दिनुपर्दछ भन्नुभयो । उहाँले नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत केबल ३४० किलोवाट घण्टा रहेको अवस्थामा यसलाई वृद्धि गर्न ऊर्जा उत्पादनसँगै त्यसको दक्षतापूर्ण रुपमा उपयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो । ऊर्जाविज्ञ विशाल थापाले नेपालमा ऊर्जा दक्षताका क्षेत्रमा हालसम्म भएका कामको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्राडा त्रिरत्न ब्रजाचार्य, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, नेपाल गुणस्तर तथा मापदण्ड विभागका उपमहानिर्देशक प्रभातकुमार सिंह, नेपाल विद्युत् प्राधिकरणका ऊर्जा दक्षता विभागका प्रमुख श्रीराम पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य अरनिको राजभण्डारी र ऊर्जाविद् अनिल चित्रकारले पनि ऊर्जा दक्षताको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो अवसरमा भारतको ऊर्जा दक्षता व्युरोको महानिर्देशक डा अजय माथुर र निर्देशक सौरभ डिड्डी तथा बङ्गलादेशको दिगो तथा नवीकरणीय ऊर्जा विभाग प्राधिकरणका अध्यक्ष मोहम्मद अलाउद्दिनले पनि विश्वमा ऊर्जा दक्षतामा भएका कार्य र नेपालको सन्दर्भमा यसको महत्वका बारेमा भर्चुअलको माध्यमबाट बोल्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope