के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास


बैङ्गलोर (भारत), १९ कात्तिक (रासस) : गएको भदौ २७ गते अपराह्न काठमाडौँको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो ।

काठमाडौँवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । समाचार कक्षको फोन र त्यहाँ रहेका साथीहरूका मोबाइलका घन्टी बज्न थाले । प्रश्न थियो– आज काठमाडौँमा केको जाम हो ? अकस्मात धेरै फोन आएपछि हामी पनि छक्क प¥यौँ । एकैछिनमा फेसबुक पेजहरूमा जिज्ञासा ओइरिएका थिए ‘लौन आज काठमाडौँ किन यस्तो जाम हो ?’ पछि थाहा भयो– त्यसदिन चिनियाँ सभामुख नेपाल आएकाले सडक खाली गराइएको रहेछ ।

उहाँ आउने समाचार त थियो तर ट्राफिक व्यवस्थापनको सूचना भने कतै थिएन । त्यस दिन नागरिकले दुःख पाए र व्यापक आलोचना गरेपछि ट्राफिक प्रहरीले भोलिपल्ट भने राजधानीको ट्राफिक रुट सार्वजनिक ग¥यो । गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो । चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै । तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन् । जनतालाई भने घर अगाडिको फोहरका डङ्गुर हटे हुन्थ्यो भन्ने मात्र थियो । चुनाव सकियो, नयाँ नेतृत्व आयो तर फोहर उठेन । फोहर फाल्ने गरिएको साइटका नागरिकका माग यताको फोहरको डङ्गुर जस्तै बढ्दै गए ।

काठमाडौँ गन्हायो । नागरिकस्तरबाट महानगरको आलोचनाको सीमा रहेन । मानिसले स्वयंसेवीरुपमा फोहर उठाउन थाले । करिब दुई महिनामा बल्लतल्ल महानगरले उठायो । सायद लामो समयसम्म थुप्रिएको फोहरबाट पनि अहिलेको कडा खालको डेङ्गु विकसित भएको हुनसक्छ । यो अनुसन्धान हुन भने बाँकी नै छ ।

काठमाडौँभित्रका (सम्भवतः नेपालकै) कुनै पनि अस्पतालले आफ्नो सेवा र अवस्थाका बारेमा आफ्ना वेबसाइटमा जानकारी गराएर अपडेट गरेका हुँदैनन् । आफ्ना अस्पतालमा आइसियु, सिसियु, बेड तथा अरु के–कस्ता सेवा उपलब्ध छन् या छैनन् भन्नेबारेमा केही जानकारी राख्दैनन् । त्यसो गरिदिँदा बिरामीलाई इमर्जेन्सी सेवामा लैजान सजिलो हुन्थ्यो । स्वभावतः मानिस रगत किन्न रक्तसञ्चार केन्द्र नै जान्छन् । रक्तसञ्चार केन्द्रले आफूसँग कुन रगत छैन भन्नेबारेको सूचना आफ्नै वेबसाइटमा अनिवार्यरुपमा राख्नुपर्छ । अपडेट गरिदिए मानिस त्यहाँसम्म दुःख पाउनै पर्दैनथ्यो । यस्तो अभ्यास हामीसँग छैन ।

नागरिकका आधारभूत आवश्यकताको यो उपलब्धताका लागि आवश्यक यो चेतनास्तरसम्म हामी कहिले पुगौँला ? त्यसको कुनै योजना पनि अझै हाम्रासामु छैन । सानो सहरका साँघुरा बाटोहरूको व्यवस्थापनको कुनै दिगो योजना छैन । चोभार बस्ने मानिसले आफ्ना छोराछोरीको स्कुल बूढानीलकण्ठतिर राखेको छ, महाराजगञ्ज बस्नेले भक्तपुर या ललितपुरतिर होला ।

अभिभावक या विद्यालयले पनि बिहान र बेलुकाको कार्यालय समयमा आफ्ना बालबालिकाले सवारी जामको समस्या कस्तो भोगेका छन् भन्ने हेक्का कमै राख्छन् । ट्राफिक व्यवस्थापन राम्रो हुँदो हो त शिक्षा अधिकारी, विद्यालय, ट्राफिक प्रहरी तथा अरु आवश्यक सम्बद्ध सरोकारवालाको समन्वय हुन्थ्यो र बसाई र विद्यालय व्यवस्थापनको वैज्ञानिक प्रबन्ध हुन्थ्यो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope