स्याङ्जा–२ (१)मा कांग्रेसका अर्याल विजयी

वालिङ, १६ मङ्सिर (रासस) :
स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाबाट उहाँ १५ हजार एक सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीलाई दुई हजार सात सय ३० मतान्तरले पराजित गर्नुभएको हो । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएका रेग्मीले यसपटक १२ हजार चार सय ३१ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा–२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन् । विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसक्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।
स्याङ्जा क्षेत्र नं २ मा कांग्रेसका धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ । एमाले उम्मेदवार पद्माकुमारी अर्यालले १० हजार छ सय २७ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीच दुई हजार तीन सय २४ मतान्तर छ । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस