को हुन् मदन राई ? कस्तो थियो उनको यौन दुर्व्यवहार? किन हिरासतमा ? (भिड्यो सहित)

आफुलाई कृषि विज्ञको रुपमा चिनाउने खोटाङका मदन राई पक्राउ परेका छन् ।
राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आफैले सञ्चालन गरेको खोटाङस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ मा पढ्ने बालिका तथा किशाोरीमाथि यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय राई शुक्रबार पक्राउ परेका हुन्।
राईलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएको छ। राईले फाउन्डेनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो। शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।
फाउन्डेसनका संस्थापक राईले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थी सामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।
उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालयमा चल्दै आएको छ। राईले स्कुलको अनुमति लिएर नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका थिए। उनले उक्त फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए।
उनलाई पक्रनु पहिले सेतोपाटिमा यस्तो समाचार आएको थियो। “बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ” शीर्षक अन्तर्गत शोभा शर्माले सेतोपाटिमा यस्तो समाचार छापेपछि उनलाई हिरासतमा लिएको हो ।
‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले राईलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।
‘उहाँलाई फाउन्डेसनबाटै पक्राउ गरिएको हो। थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘लिखित र मौखिक उजुरी आएका छन्।’
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।
यसबारे सेतोपाटीले बिहीबार समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त स्टोरी:
उनले दिने अन्तर्वार्ता होस् वा बिध्यार्थिलाई पढाउँदा बोलिने भाषा होस् वा उनले फेसबुकमा राख्ने स्ट्याटस होस् कुनै सुन्न र पढ्न सकिने छैनन् । हेर्नुहोस् उनका भिडियोहरू
उनका अरु भिड्योहरु हेर्न यो लिंकमा जानुहोला: (14) Madan Rai – YouTube
पढिहालौँ एक बालिकाको अनुभव सेतोपाटीबाट साभार : पुरा यहाँ पढ्नुहोला ।
दिक्तेल ४
घरमा आमा, तीन जना बहिनी, एक जना भाइ र म थियौं। बुवा भारतमा काम गर्न जानुभएको थियो। एक दिन अंकलले आमालाई ‘काठमाडौंभन्दा पनि अझ पर खोटाङमा एउटा स्कुल छ। त्यहाँ राम्रो पढाइ हुन्छ, नानीलाई पठाउँदा हुन्छ’ भन्नुभयो।
अंकलले मलाई पनि ‘ठूलो भवनमा स्कुल हुन्छ। साइकल चढेर स्कुल जान पाइन्छ। तिमी पढ्न जाऊ’ भनेर सम्झाउनुभएको थियो।
पैसा नपर्ने र राम्रो पढाइ हुन्छ भनेपछि आमा राजी हुनुभयो। बुवाले पनि हुन्छ भनेपछि अंकलसँग म काठमाडौं आएँ। अनि खोटाङ आयौं। शुभममा आउँदा अंकलले भनेजस्तो स्कुलको ठूलो भवन थिएन। हाम्रै गाउँको स्कुलजस्तो थियो।
दिनभरि पढाइ भए पनि बिहान बेलुका खेतमा, गोठमा, भान्सामा काम गर्नुपर्थ्यो। उतै घरमा जस्तो काम हो हामीले गर्ने। मदन बाजे बेलाबेला शुभम आउनुहुन्थ्यो। त्यो बेला हामीलाई धेरै अर्ती दिनुहुन्थ्यो। खेतबारीमा काम गर्न पनि सिकाउनुहुन्थ्यो।
चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।
हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।
एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाएँ।
एक साँझको कुरा हो, म र साथी छतबाट लुगा लिएर झर्दै थियौं। आँखा चिम्म गर्दै को तलसम्म पुग्न सक्छ भन्ने खेल पनि खेलेका थियौं। म अघिअघि थिएँ। आँखा चिम्म गरेर झरेको मौका छोपेर बाजेले मेरी साथीको छातीमा च्याप्प समात्नुभयो। साथी के गरेको बाजे भन्दै थुचुक्क बसी।
अनि बाजेले भन्नुभयो, ‘तेरो…बढ्ने बेला भएको छ, चलायो भने ठूलो हुन्छ, के हुन्छ र?’
त्यसपछि हामी दुवै दौडेर तल झर्यौं।
हामीले बाजेलाई कहिले खान बोलाउनुपर्थ्यो, कहिले खाना लगेर दिनुपर्थ्यो, कहिले पानी पुर्याउनुपर्थ्यो। बोलाउने बेला त ढोकाबाटै बोलाए पुग्थ्यो। खाना, पानी लिएर भित्रै पुगेका बेला भने बाजेले ज्यानमा हात हालिहाल्ने गर्थे।
पानी/खाना लिएर जाँदा हाम्रो दुवै हातमा सामान हुन्थ्यो। त्यस्तो बेला भेट्टाए त बाजेले अँगालो मार्नुहुन्थ्यो। एक दिन मैले झट्कार्दा उहाँको टाउकोमा लाग्यो। उहाँले ‘ऐय्या कस्ती रहिछे’ भन्दै टाउको छाम्नुभयो। त्यही मेसोमा म भागेँ। बाजेले सहजै मेरो ज्यानमा हात हाल्नुहुन्थ्यो। तर के गरेको यो भनेर गाली गर्यो, चर्को बोल्यो, वा भाग्यो भने अघि बढ्नुहुन्न थियो।
ललितपुरमै बस्दाको कुरा हो। बाजे सेकेन्डह्यान्ड लुगा लिन साथीहरूकहाँ जान लाग्नुभएको थियो। उहाँले मलाई पनि हिँड् भन्नुभयो। कारमा लिएर जानुभयो। जाने बेलामा मलाई भित्री अंगका बारेमा सोध्नुभयो। रौं आएको छ कि छैन, महिनावारी भएको छ कि छैन भन्ने सोध्नुभयो। जाँदा पनि र आउँदा पनि यस्तै सोध्नुभयो। केही नबोली बसेँ म। त्यो दिन पनि खुब डर लागेको थियो।
त्यसको केही दिनपछि हामीहरू खोटाङ फर्कियौं।
मलाई दिन, महिना त याद छैन। शुभम फर्किएपछि मलाई किचन विभाग अन्तर्गत गेस्टरूमको काम गर्ने रूटिन परेको थियो। गेस्टरूम भनेको मदन बाजे सुत्ने कोठा हो। दिनदिनै उहाँको कोठा सफा गर्न जानुपर्थ्यो।
गएको बेला बाजे त्यहीँ हुँदा ‘म तँलाई सेक्स गर्न सिकाउँछु, यस्तो कुरा सिकिराख्नुपर्छ’ भन्नुहुन्थ्यो।
उस्तै परे उहाँ लुगा खोलेर नांगै भइहाल्ने। त्यस्तो बेला अँगालो मार्न खोज्ने। बाजे त्यस्तो बोल्न र लुगा फुकाल्न थालेपछि भागिहाल्थेँ।
ललितपुरको बसाइ सकेर फर्किएपछिको गर्मी महिनाको कुरा हो। शुभममा गेस्टहरू आउँदै थिए। स्कुल हेर्न टाढाटाढाबाट पनि मानिसहरू आउँथे। त्यो दिन गेस्टहरू कतिखेर आइपुग्ने भन्ने कुरा बाजेलाई मात्र थाहा थियो। त्यसैले रोजिना आन्टी (मदनकी आफन्त)ले ‘गेस्ट कतिखेर आउने हो, बाजेलाई सोध’ भनेर मलाई पठाउनुभयो। उहाँ हाम्रो स्कुलमै काम गर्नु हुन्छ।
बाहिर बरन्डाबाट मैले बाजे भन्दै बोलाएँ। उहाँ बोल्नुभएन अनि म फर्किएँ। म उहाँको कोठाअगाडिको बरन्डाको डिलमा आइपुगेकी थिएँ। एक्कासि बरन्डाको अर्को छेउमा रहेको बाथरूम खुल्यो। मलाई बाजेले ‘ओइ, यता हेर् त’ भन्दै बोलाउनुभयो।
म फर्किएको त बाजे साबुन लगाएको नांगै ज्यानमा देखियो। मैले त आँखा चिम्म गरेँ। अनि बाजेले ‘तँलाई देखेर मेरो…भयो’ भन्नुभयो।
धन्न म नजिक थिइनँ। म धेरै कुरा नसुनी निस्किएँ। आएर रोजिना आन्टीलाई सुनाएँ। उहाँ हाँस्नुभयो।
अर्को एक दिनको कुरा हो। कृषि विभागको काममा मेरो रूटिन थियो। खेतमा काम गर्नुपर्थ्यो। काम गर्न गएका बेला मेन्टरसहित दस जना जति विद्यार्थी थिए। सबै केटाहरू, केटी म एक्लै। त्यही बेला बाजे घुम्दै आउनुभयो। सबैलाई एकै ठाउँमा जम्मा हुन भन्नुभयो र अपशब्द बोल्न थाल्नुभयो। केटाहरूलाई पनि त्यस्तै बोल्न लगाउनुभयो। केटाहरूले बोलेनन्। अनि गाली भेटे।
सुरूमा हाम्रो कक्षाकै एक जना केटा साथीलाई अश्लील शब्द बोल भन्नुभयो। उसले त उँधो मुन्टो लगायो। बोलेन। बाजेले बेस्सरी गाली गर्नुभयो। डरायो होला। त्यसपछि बिस्तारै बिस्तारै बाजेले जे भन्नुहुन्छ, त्यो कुरा दोहोर्यायो। त्यो दिन त्यहाँ भएका मेन्टर र विद्यार्थी सबैलाई उहाँले अश्लील शब्द बोल्न लगाउनुभयो। मलाई बहुत गाह्रो भयो। सबै केटा थिए, त्यसैले डर पनि लाग्यो।
पछिपछि गेस्टको काम केटाहरूले पनि सिक्नुपर्ने नियम आयो। एक बिहान सफा गर्न मसँगै अरू दुई जना केटा पनि गएका थिए। उनीहरूकै अगाडि बाजेले ‘तिमीहरू बिहे नगर, सेक्स चाहिँ गर्ने गर’ भन्न थाल्नुभयो। ती साथीहरूसँग अघिपछि कुरा गर्दा पनि पूरै लाज हुन्थ्यो।
शुभममा बाजे मात्र होइन, पेशल कार्की भन्ने मेन्टर पनि त्यस्तै हुनुहुन्थ्यो।
चार-पाँच वर्षअघिकै कुरा हो। त्यो बेला पेशल सर पशु विभागको मेन्टर हुनुहुन्थ्यो। पशुपंक्षीका लागि चाहिने सामग्री र खानेकुरा उहाँको जिम्मामा हुन्थ्यो। त्यो विभागमा रूटिन पर्नेहरूले सामान माग्न उहाँकोमा जानुपर्थ्यो।
एक दिन दिउँसो पेशल मेन्टरले ‘आज स्टोरमा आइज’ भनेर बोलाउनुभयो। जानैपर्थ्यो, गएँ। म डराएकी थिएँ। किनभने पेशल मेन्टरले त्यसरी बोलाएर केटीहरूको ज्यानमा हात हाल्नुहुन्छ भनेर साथीहरूले सुनाएका थिए। नभन्दै पेशलले मेरो छातीमा हात हाल्नुभयो। त्यो दिन मात्र होइन, त्यसपछि पनि उहाँले मेरो छातीमा छुनुभएको छ। उहाँले कहिले गालामा चुम्मा खाने, पछाडिबाट छोइदिने, चिमोट्ने, छातीमा हात हाल्ने सबै गर्नुहुन्थ्यो। कतिपटक गर्नुभयो भन्ने कुरा गन्नसमेत बिर्सिएँ। मलाई मात्र होइन, मेरा अरू दुई-तीन जना साथीहरूलाई पनि त्यसै गर्नुहुन्थ्यो।
पछि हामीले शिक्षिकाहरूलाई यसबारे भनेका थियौं। त्यसपछि भने पेशल मेन्टरले त्यस्तो गर्न छाड्नुभयो।
म शुभममा होउन्जेल खुब डराएँ। बाजे नियमित शुभममा बस्न थालेपछि त उहाँ जे पनि बोल्नुहुन्थ्यो। जतिखेरै सेक्सकै कुरा गर्ने। अनि अप्ठ्यारो भइरहन्थ्यो। मलाई त किन आएछु भन्ने लाग्थ्यो। बहुतै डर लाग्ने। कसले कतिखेर के गर्छ भन्ने जस्तो भइरहन्थ्यो। त्यसमाथि पढाइ पनि हुन्नथ्यो। काम मात्रै गर्नुपर्ने।
बाजे बेलाबेला ‘जान मन लाग्ने जति गइहाल, तिमीहरूले भात मात्र खाएर सक्यौ’ भनेर उफ्रिनुहुन्थ्यो। त्यो बेला मलाई एकदमै अप्ठ्यारो लाग्थ्यो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस