“अमेरिकाको पैसाको बोट” सबैले सोच्ने त्यहि हो
त्यहि भएर ढुक्क हुनुहोस तपाई गलत हुनुहुन्न
मनमनै सपनाहरु रोप्नुहोस, अमेरिकामा पैसाको बोट हुन्छ,
फलिरहने नोट हुन्छ, जसरि आँप घारीमा लटरम्मै आँप हुन्छ,
यति हुन्छ, खाईनसकेर भुइँभरि फतफत झर्छ, त्यहि कुहिन्छ।
मनको धोक्रो ठुलो बनाएर अमेरिकामा छिर्नुहोस
छिर्दै गर्दा, बिमानमा उड्दै गर्दा सोच्नुहोस
सबै नोट सोर्हौला, अलिकति रामेलाई अलिकति स्यामेलाई
अलिकति आफन्तलाई र बाँकी सबै बाउआमा, भए श्रीमतीलाई पठाउला,
ठाउँ-ठाउँमा घडेरी जोडौला, सपना जस्तै सुन्दर घर बनाउला
आँफै नेपाल जादा सबैका हातमा एउटा-एउटा सुनको टुक्रो राख्दिउला ।
आहा, क्या गजब!
आँखा चिम्म गरेर हेर्नुहोस सबैको मुस्कान कानसम्म तन्किएको देख्नुहुन्छ ।
साच्चै, पैसा त यहाँ बोटमै फल्छ , तर तपाई र मैले सोचे जस्तो बोट होइन ।
हो त परिश्रमको बोट, त्यसलाई पसिनाको मल चाहिन्छ ।
नोट परिश्रमको बोटमा फल्न नपाई, चिचिलोमै बिल तिर्न जान्छ ।
यहाँ त सुका भन्दानि सानो “पेनी” फल्छ ,
त्यो पनि मान्छे चेन वाला वालेटको बिचमा च्यापेर हिड्छ ।
खातामा एक पेनी जम्मा हुनथाल्ने बित्तिकै अफर आउन थाल्छ चार दिशाबाट:
म क्रेडिट कार्ड बोलेको, म केवल बोलेको, म जीवन बिमा बोलेको,
म डिलरसिप बोलेको, म रियल स्टेट एजेण्ट बोलेको,
यता पनि अफर उता पनि अफर,
तपाई सधैभरि धोक्रै रहनुहुन्छ
अझ बढि मनको धोक्रो ।
तपाईका निजी सपना जति सबै सुहा,
र सुरु हुन्छ अमेरिकी सपना
जहाँ तपाई राख्न थाल्नुहुन्छ भावना बन्दकी
र गर्नुहुन्छ लाहाछाप अनिश्चित भबिष्यको तमसुकमा
जहाँ तपाइलाईनै थाहा हुन्न खुशी हुनहुन्छकि हुनहुन्न
र बस्नुहुन्छ बेरेर भ्रमको कात्रो पल्टाउदै नेपालको पात्रो
जसले पल्टाउछ चाड, पर्ब र बिगत,
हेर्नुहुन्छ टिलपिल आँखाले ।
तपाइले सोचेजस्तो मनको धोक्रो कहाँ भरिन्छ र ?
मान्नुहोस,
परिश्रमको बोट रोप्नेहरुले मनको धोक्रो त आफ्नै देशमा भर्छन ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
Reblogged this on Tulasi's blog.