शनिवार विशेष: सरकार सुतिरहेको छ (कबिता )

नहोस् नयाँ दिनको आगमन
हाँगा हाँगामा बसेर
सुरिलो स्वरमा गीत नगाऊ
नचिरबिराउ ए चराचुरुङ्गीहरू
सरकार सुतिरहेको छ ।
नजन्मियोस् नयाँ सौन्दर्य
नफुलोस् एउटा फूल
कोपिला फूल बनेर नमगमगाओस्
हल्ला गर्दै हूलका हूल भमरा आउनेछन्
सरकार सुतिरहेको छ ।
नगाऊ जीवनको कुनै गीत
हर्षोल्लास् मनाउँदै नबग ए खोलाहरू
नाचगान गर्दै ओरालो नजाउ
पटक्कै नचिच्याउ
सरकार सुतिरहेको छ ।
ननिस्कियोस् कुनै मीठो धुन
बादल नउडोस, हावा नचलोस्
रिमझिम वर्षात् नझरोस्
नहोस् कुनै प्रकारको होहल्ला
सरकार सुतिरहेको छ ।
नचम्किए, नचम्कियोस् जून
घाम नउदाए नउदाओस्
ताराहरू नटिलपिलाए नटिलपिलाउन्
भीरपहरा गीत गाउँदै नडुल ए बतास
सरकार सुतिरहेको छ ।
नथालियोस् उमंगको यात्रा
ए खुट्टाहरू नयाँ जोशमा नहिँड
यी सहस्र पदचापले
वातावरणको मौनता भङ्ग हुनेछ
सरकार सुतिरहेको छ ।
सरकार सुतिरहको छ साथी
तिमी चुपचाप बस !

यो कबिता कबि चन्द्र गुरुङले लेखेका हुन् । हामीले यो उनको फेसबुकबाट साभार गरेका हौ । कबि गुरुङ एक हुनुहार नेपाली कबि हुन् । उनका धेरै कविताहरु अंग्रेजीमा पनि अनुबाद भईसकेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस