बुवालाई पत्र (कबिता )

२७ बैशाख २०७७, शनिबार ००:५४

बा,
छोरीलाई काँधमा राखेर
खुल्ला आकासमा चम्किरहेका
ताराहरु देखाउदै गर्दा
सम्झिरहेछु यी तिनै ताराहरु होलान
जसलाई मैले तिम्रा काँधबाट हेरेको थिए ।
तिनै ताराहरु थिए साक्षि मेरा उट्पट्याङ्ग प्रश्न,
मेरो हुर्काई र तिम्रा प्रेमका !
टिलपिल तारा जडित क्यानभास जस्तो आकासलाई पृष्टभूमिमा राखेर
तिमीले पोतेको थियौ मेरो अनुहार प्रेम मसिले
त्यहि मसिले पोतेका थियौ सपनाको चित्रकला
जुन म आज कोर्दैछु मेरी छोरीलाई काँधमा राखेर
त्यहि तारा जडित क्यानभास जस्तो आकासलाई पृष्टभूमिमा राखेर !

अथाह खुशी र प्रेम त मैले मेरो सन्तानलाई दिए भन्दा पनि
अबोध सन्तानबाट लिनु झन् बढि रहेछ भन्ने बुझेपछि
मैले तिमीलाई कति पिरोले होला ?
भन्ने पल पलको प्रश्नले त्यति पिरोलेको छैन मलाई आजकाल
तर पनि मैले कसम खाएको छु तिनै तारालाई साक्षि राखेर
‘म कहिल्यै बिर्सने छैन मेरा बाको म संगको प्रेम’
र मनमनै भन्दैछु मेरी छोरीलाई ‘तिमि पनि नबिर्सिनु है मलाई’

बा,
तिमि र आमालाई सम्झदैछु यतिबेला,
गोडमेल गरेउ, मल हालेउ
र एउटा रहर लाग्दो पिपलझै बनायौ,
म जरा हाल्ने भएपछी
सन्तान पत्नी र बा-आमालाई छाहारी दिनु
मेरो कर्त्ब्य हुन थाल्यो ।
यदि कतै तिमीलाई यो छोरो स्वार्थी भयो भन्ने लाग्यो भने,
मेरा सबैमा तिम्रो हक लाग्न छोड्यो भन्ने लाग्यो भने,
वा म कसैको भए र माया दिन छोडे भन्ने लाग्यो भने,
जस्तो तिम्रा बाले पनि त्यही सोचेको हुन सक्थे !

सम्झिनु,
हुर्कदै गएपछी सन्तान र बा-आमा बिचको प्रेम पर्दामा नदेखिएको मात्र हो,
तारा जडित आकासको क्य्यानभासमा नपोतिएको मात्र हो,
प्रेम भन्दा माथी अर्को ठूलो कर्त्ब्य भएर मात्र हो,
तर म कहाँ बिर्सिनु सक्छु र
तिम्रो चुम्बनले यो चिउडोमा बनाएको सुन्दर डिम्पल !

लेखक परिचय: आचार्य अंग्रेजी उपन्यास ‘रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड’ र ‘जेण्डर एण्ड डिसेबिलिटि पोलिसी’ पुस्तकका लेखक हुन् । उनि विभिन्न बिषयमा कलम चलाउन मन पराउँछन । फुर्सदमा उनि कबिता पनि लेख्छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.