फेरी पनि भन्छु ‘अबको तीज नो ब्रत प्लिज’


हालै मेरो एउटा ‘औसत दर्जाको’ गीतले राम्रै प्रचार पायो, नराम्रो गाली खायो, खुवायो। गाली मात्र होइन, मलाई खुलेआम ‘भौतिक कारबाही’ गर्ने धम्की दिँदै केही व्यक्ति मन्त्रीकहाँसम्म पुगे र ‘मुस्कानसहितको स्वागत’ पाएँ।

मलाई पहिले आश्चर्य, अनि दुःख अनि डर लाग्यो। खुसी केमा लाग्यो भने मैले धेरैको साथ पाएँ।

मेरो ‘अबको तीज, नो ब्रत प्लिज…’ भन्ने सामान्य, तर समसामयिक र पप वर्गमा पर्ने गीत हो। गीत लेख्दा, त्यसमा धून भर्दा, गाउँदा र रेकर्ड गर्दा त्यो लोकप्रिय होस्, सबैका जिब्रामा झुन्डियोस् भन्ने चाहना सबै सर्जकमा हुन्छ। ममा पनि थियो।

तर अहिले जुन किसिमको चर्चा यसले पाएको छ, यसका लागि योग्य गीत हो भन्ने मलाई अहिले पनि लाग्दैन।

यसको एउटै कारण हो, केही प्रचारजीवीहरूले लामो समयदेखि कराउने कुनै निहुँ पाएका थिएनन्, मेरो गीत उनीहरूका लागि राम्रै भर्‍याङ बन्न पुग्यो।

पहिले म तपाईंसमक्ष मेरा गीतको शब्द प्रस्तुत गर्छु-

अबको तीज नो ब्रत प्लिज
नो खुट्टाको पानी
महिला पुरुष दुवै नै बराबरी

रंगीबिरंगी चुरा र साडी
गहनाको भारी
गुडिया जस्तै सजिएर
नखाने दर हामी

अबको तीज नो नक्कल प्लिज
नो खर्चको भारी
महिला पुरुष दुवै नै बराबरी

हातैमा हात, साथैमा साथ
नाचौं न छमछमी
सबैलाई खुसी बाँडेर नै
मनाऊँ तीज यसपालि..

यो गीतमा तीज शब्द तीनपटक प्रयोग भएका छन्। पहिलो हरफमा मैले ‘अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी, महिला पुरुष दुबै नै बराबरी’ भनेकी छु। अन्तरामा एक ठाउँ ‘अबको तीज नो नक्कल प्लिज’ र अन्त्यमा ‘सबैलाई खुसी बाँडेर नै, मनाऊँ तीज यसपालि’ भनेकी छु।

प्रिय पाठक, यसमध्ये कुन चाहिँ शब्द तपाईंलाई आपत्तिजनक लाग्यो? यो गीतमार्फत् भौतिक कारबाहीकै धम्की खानुपर्ने के अपराध गरेकी छु मैले? कसैलाई ‘अबको तीज नो ब्रत प्लिज, नो खुट्टाको पानी’ सित नै आपत्ति भयो भने पनि बाँकी कहीँ कतै ‘लेख्न नहुने’ कुरा मैले लेखेकी छु र?

र, मजस्ती एउटी कमै परिचित गायिकाले एउटा गीतमा ‘अबको तीज, नो ब्रत प्लिज, खुट्टाको पानी’ भन्दा नै हल्लिने भनेर हाम्रो हिन्दु धर्मलाई के सावित गर्न खोजेका हुन्, आफूलाई धर्मको ठेकेदार ठान्नेहरूले? मैले बुझ्न सकेकी छैन।

यो गीतमा मैले लेखेका-गाएका कुनै पनि हरफ वा शब्द औंल्याएर, हाटहुट नगरी, बलप्रयोग र भौतिक कारबाहीको धम्की नदिई, शान्त स्वरमा छलफल गरेर ‘यहाँ यो गल्ती भयो’ भनेर कसैले मेरो चित्त बुझाइदिन्छ भने म माफी माग्न पनि तयार छु।

हिजोआज एउटा बडो नराम्रो चलन चलेको छ, आफ्नो कुरा तल पर्न लाग्यो भने अरूमाथि लाञ्छना लगाइदिने। विधर्मीहरूबाट प्रेरित वा पोषित वा डलर खाएको भन्नेबित्तिकै नराम्रो हाटहुट सुरू हुन्छ। त्यति भनेपछि कुनै छलफलका लागि ठाउँ रहँदैन।

धेरै मानिस मनमा प्रश्न र सन्देह, अविश्वास र सुधारको चाहना हुँदाहुँदै पनि मौन हुन्छन्। फलतः हाम्रो धर्ममा उदासीनता बढेको छ। अनुष्ठानहरू कमजोर र पातला भएका छन्।

तर म त्यस्ता सबै आरोप वास्तै नगर्ने गरी एउटी आत्मविश्वासी हिन्दु नारी हुँ। म धार्मिकभन्दा आफूलाई आध्यात्मिक भन्न रूचाउँछु। मैले मान्ने यो आस्थामा ओमकारको सबभन्दा ठूलो ठाउँ छ। म हरेक बिहान ध्यानका क्रममा ओमकार उच्चारण गर्छु। मैले नपढे पनि वेदप्रति मेरो सम्मान छ र वेद ध्वनिले मेरो मनमा पवित्रता बोध गराउँछ। मेरो हिन्दुपनले कसैबाट कुनै प्रमाणपत्र खोज्दैन। हिन्दुपन मेरो राजनीति होइन, अनुष्ठान पनि होइन, मेरो संस्कार हो। त्यसैले मैले कसैका सामु आफूलाई हिन्दु प्रमाणित गर्नु पनि छैन।

म प्रत्येक बिहान हजुरबुवाको ठूलो फिलिप्स रेडियोबाट ‘सबलाई सुख होस्, सबको जय होस्’, ‘जय अम्बे जय महाकाली’ जस्ता गीत र भजन सुनेर हुर्केकी हुँ। मेरा हजुरबुवाले बिहानै पूजा गरेर शंख फुक्नुहुन्थ्यो। जसलाई मेरो बाबाले पनि निरन्तरता दिँदै आउनुभएको छ।

बाबाले प्रत्येक बिहान शंखनाद गर्दा त्यसको ध्वनिले ममा सकारात्मक ऊर्जा थपेजस्तो लाग्छ। पारिवारिक प्रभावकै कारण म जीवनमा ध्यान र ब्रतको ठूलो महत्व देख्छु। म पनि ब्रत लिन्छु। फरक के भने, म मेरो व्यक्तिगत स्वास्थ्य र आत्मिक शान्तिका लागि ब्रत बस्छु र ध्यान गर्छु। र, अझै थप्न चाहन्छु, म सात्विक भोजन गर्छु अर्थात् माछामासु खाँदिनँ।

मेरा प्रिय श्रीमान् र प्यारो छोराको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि मैले गर्ने काम अरू नै छन्। म अर्काका लागि अर्काले पुण्य गरिदिनुपर्छ वा गरिदिँदा हुन्छ भन्नेमा पटक्कै विश्वास गर्दिनँ। म मेरा श्रीमान‌लाई पतिपरमेश्वर मान्दिनँ।

एउटा कलाकार भएका नाताले मसित मेरा विश्वासलाई स्वर दिने क्षमता छ। मैले त्यही क्षमता प्रयोग गरेर गीत लेखे-गाएकी हुँ। म श्रीमान‌को दीर्घायुका लागि श्रीमतीले ब्रत बस्नुपर्ने (अझ उसकै खुट्टाको पानी खाएर ब्रत तोड्नुपर्ने) नियम कुनै हालतमा स्वीकार्न सक्दिनँ। यो मेरा आध्यात्मकी हजुरबुवा र बुवाहरूले दिएको सबल संस्कार र आधुनिक शिक्षाको प्रतिफल हो। त्यसैले मैले खुट्टाको पानी खाएर गरिने ब्रतलाई ‘नो’ भनेकी हुँ। यो त मलाई भौतिक कारबाही नै भयो भने पनि भनी नै रहन्छु।

तीज महिलाहरूको पर्व हो, तर रमाइलो कुरा मलाई र मेरो श्रीमानलाई आएका अधिकांश धम्की र विमतिहरू पुरुषका तर्फबाट थिए। जारी गरिएको चिठीमा पनि पुरुषहरूकै हस्ताक्षर छ। उहाँहरूले सुरूमै धम्कीपूर्ण शैलीमा भन्नुभयो– ‘गीत हटाऊ। तिमीले धर्मविरुद्ध काम गर्‍यौ।’

हामीले प्रश्न गर्‍यौं, ‘महिलाले मनाउने तीजबारे तपाईं पुरुष किन बोल्नुभएको? तपाईं केका आधारमा महिलाले ब्रत बस्नैपर्छ र खुट्टाको पानी अचाउनुपर्छ भन्नुहुन्छ?’

त्यसपछि त गालीको क्रम झनै बढ्यो र त्यसले मर्यादाको सबै सीमा नाघ्यो। उहाँहरूले ‘ब्रत बसेन भने त तीज कसरी हुन्छ? तीजको महत्व के?’ भन्ने प्रश्न गरिरहँदा मेरा मनमा प्रश्न उठिरह्यो- किन पुरुष ब्रतसहितको तीज चाहन्छन्?

यो प्रतिप्रश्न पुरुषलाई जाँदा उहाँहरूले महिलालाई अगाडि सारेर उही दृष्टिकोण दोहोर्‍याउनुभयो र भन्नुभयो, ‘तँ नेपाली समाजको भाइरस होस्, तँलाई कालोमोसो लगाउनुपर्छ।’

त्यसपछि मैले बुझेँ यो केवल लैंगिक विषय होइन, यो शासकीय चरित्र हो जसको अहम् र अधिकारिकतामाथि मेरो गीतले चोट पुर्‍यायो। मलाई लाग्छ मेरो गीतले धर्मको नाउँमा आफ्नो शक्ति स्थापित गर्न चाहनेको नियतमाथि प्रहार गर्‍यो। उनीहरूको स्वार्थ र डरमाथि धावा बोल्यो र त्यसै कारण यो विवादास्पद भयो।

उनीहरू आफूलाई धर्मको संरक्षक भन्छन्, संस्कारको रक्षक भन्छन् र मलाई ‘माफी माग्नुस्, गल्ती भो भन्नुस्, होइन भने गुप्त तरिकाले जे पनि हुन्छ’ भन्छन् (यी धम्कीका भिडिओ र मेसेज हामीसित सुरक्षित छन्)।

उनीहरू एकातिर ‘यो त गीत नै हैन, यसमा कला गला दुवै छैन’ भन्छन् र तुरुन्तै ‘उक्त गीतले धर्मको मानमर्यादा गरेन’ भन्छन्। जुन गीत नै होइन, त्यसलाई उनीहरू किन यत्रो महत्त्व दिन्छन्?

माथि पनि भनिसकेको एउटा कुरा फेरि भन्न मन लाग्यो, एउटा गीत पनि हुन नसकेको गीतले तहसनहस गर्ने कति कमजोर आस्था प्रणाली हो हाम्रो? धर्म यति कमजोर हुन्छ? के हिन्दु धर्म मन्दिर, पुजारी, चाडपर्व, रीतिरिवाजमा मात्र सीमित छ?

मलाई गाली गर्ने अधिकांशले ‘धर्म मास्ने गल्ती गरिस्, अब तँलाई पाप लाग्छ, भतभती पोल्छ’ भनिरहँदा मलाई पाप र दहनको डर छैन, बरू मेरो उत्सुकता अझ बढेको छ- धर्म के हो? मेरो धर्म के हो? हिन्दु बन्ने प्रक्रिया के हो?

मेरा पुर्खा हिन्दु धर्मावलम्बी, त्यसैले मेरो आफ्नो परिचय हिन्दु नै बनेर आयो। म एक छोरी, एक बुहारी, म आमा, म दिदी, म बहिनी, म शिक्षक, म श्रीमती। यी मलाई सामाजिक सम्बन्धले दिएको नाम। यी सबभन्दा माथि ‘म एउटा मानव, मेरो कर्म मेरो धर्म।’

मैले मेरो बाबाबाट ध्यानका विधिहरू सिक्दै जाँदा अनुभूति गरेँ, हिन्दु धर्म त कर्मकाण्डभन्दा बढी दर्शन रहेछ जसले मानवता र विवेकको मूल मन्त्र बोकेको रहेछ। यसले त अविनाशी आत्माको अस्तित्वमाथि विश्वास गर्ने रहेछ र हरेक अस्तित्वलाई अनन्त निराकारसँग जोड्दो रहेछ।

तर सुरूमा पुरोहितहरूले हिन्दु धर्मलाई कब्जा गरे र अहिले आएर राजनीति गर्नेहरूले। राजनीति पनि व्यापक र लोककल्याणका लागि होइन, सत्तारोहणका लागि मात्र, जहाँ मान्छेका भावना भड्काएर भोटको खेती गरिन्छ। मलाई अचम्म र दुःख लाग्छ, आत्मज्ञानका अभ्यासहरूमा आधारित र ब्रह्मचिन्तनका लागि प्रेरित गर्ने धर्म कसरी ‘गेरुवा ग्याङ’ का हातमा पुग्यो?

अब हाम्रो समाजले कसरी कर्मकाण्ड मात्र होइन, पुराणभन्दा पनि माथि उठेर उपनिषद र वेदको अध्ययन गर्न सक्ला? हामी कसरी संसारलाई आध्यात्मिक नेतृत्व दिन सकौंला? धर्मलाई मेरो एउटा गीतले जगैसम्म हल्लाएको अनुभव गर्नेहरूका हातमा छाडिदिएर हामी कसरी आफूलाई हिन्दु धर्मावलम्बी भएकोमा गर्व गरिरहन सकौंला?

मैले क्याम्ब्रिज युकेको एंगलिया रस्किन युनिभर्सिटीबाट उच्च शिक्षा गर्दा एउटा प्रण गरेकी थिएँ– म पढिसकेपछि नेपाल फर्किन्छु र आफ्नो जीवनलाई शिक्षा क्षेत्रमा समर्पण गर्छु। त्यसैबमोजिम मैले पाएको दुई वर्षको काम छाडेर पढाइ सकिनासाथ फर्किएँ। यो सन् २००९–२०१२ को कुरा हो।

मैले त्रिभुवन विश्वविद्यालयबाट पनि उच्च शिक्षा अध्ययन गरेकी छु। भलै म यता पनि सामान्य नै विद्यार्थी हुँला, तर मसँग भएका प्रमाणपत्र फगत खोस्टा हुने हुन् त? उच्च शिक्षा हासिल गरिसकेपछि हामी महिला अझै पनि दिदीबहिनीका सुखदुःखका कुराबाहेक अरू केही गर्न नपाउने हो त?

पौराणिक अवधारणाअनुसार तीजको ब्रत बस्नाले नारीहरू आफ्नो जीवनका सबै पाप नासिएको विश्वास गर्छन्। एकपटक बसेको ब्रतले सात जन्मसम्म त्यसको फलभोगी सौभाग्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

भदौ महिनाको शुक्ल पक्षको तृतीया तिथिका दिन ब्रत बसी जुन नारीले खान्छे, सात जन्मसम्म त्यो नारी बाँझी हुन्छे। अनि प्रत्येक मनुष्य योनीमा जन्मँदा प्रत्येकपटक विधवा भइरहने अनि त्यसलाई पुत्र शोक भइरहन्छ र दुःख भोगिरहन्छे। साथै यस समयमा उपवास नबस्ने नारी घोर नरकमा पर्छे। (स्रोतः तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व र नारी आवाजका गीतहरू, डा. शिवप्रसाद पौड्याल)।

यसरी इतिहासमा यस्तो अवधारणाको प्रत्यक्ष–अप्रत्यक्ष दबाबमा चलिआएको तीजले महिलामाथि कत्रो मानसिक दबाब अचेतन मनमा गुजुल्टाइदिएको रहेछ भन्ने बुझेपछि मलाई हजारौं वर्षदेखि पीडित महिलामा सहानुभूति र दयाभाव जागेर आयो।

महिला भएकै कारण मैले मेरो घरमा कुनै भेदभाव नरहे पनि सम्पूर्ण महिला जाति र आफैंमाथि सिमोन द बुवा (फ्रेन्च लेखिका) ले भनेको ‘महिला जन्मिएकी होइन, बनाइएकी हुन्’ अभिमतसँग सहमत हुन बाध्य भएँ। र, कुनै बेला सतीप्रथामा महिला ज्युँदै जल्दा केहीले ‘नो’ भनेर नै आज ‘नो’ शब्द भएको मेरो गीतलाई यति माथि पुर्‍याई महिलाको जीवनमा ‘नो’ को सार्थकता महशुस गराउनुभयो। त्यसको निम्ति धन्यवाद!

१५-१६ वर्षदेखि एउटा संगीतको विद्यार्थी तथा संगीतमै डिप्लोमा गरेकाले संगीत मेरो साधना हो। मैले एक-दुइटा गीत गाएकी छु। ती अति नै सामान्य छन्। म पनि सामान्य मान्छे हुँ।

साधारण र अनुशासित जीवन जिउनसक्ने कला रहोस् भन्ने चाहन्छु। म सबैलाई साक्षी तथा समभाव भइरहन सकूँ भनेर त्यो अभ्यासमा लागिपरेकी छु। तर अरूसँग जसरी विचार छन्, त्यसरी नै मेरा पनि आफ्ना विचार छन्। ती विचार आफूले जानेसम्म कलाबाट अभिव्यक्त गर्छु, गरिररहन्छु।

महाकवि देवकोटाले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनेर आफ्नो सिर्जनामार्फत् पस्किँदा त्यो बेला कस्तो भएको थियो होला? म अहिले अनुमान गर्न सक्छु। सिर्जनाले कुनै अन्य अभियान अगाडि लैजान सहयोग पुर्‍याउला तर म यो गीतमा आफूलाई केवल कलाकार (तपाईं नमान्न सक्नुहुन्छ) मात्र भएर उभिएकी छु।

इतिहासमा र विश्वमा विभिन्न भूगोलमा संगीत, कला, साहित्यले समाजमा उठाएका प्रश्नहरू, त्यस्ता सिर्जनाले भोग्नुपरेको नियतिबारे तथा यसले समाजलाई समुन्नत बनाउन खेल्ने भूमिकाबारे म जानकार छु। र, यो द्वन्द्व केवल गीतको तहमा मात्र नभएर समाज रूपान्तरणको वैचारिक आवश्यकता रहेछ भन्ने मैले मानेको छु।

साभार: सेतो पाटी


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope