गुफा भित्रका कैदीले के चिन्थे गोबिन्द केसीलाई
उज्यालो नदेखेका, अँध्यारोमा बस्ने आदत भएका
प्लेटोले भने जस्ता गुफा भित्रका कैदीजस्ता भए हाम्रा नेताहरु
जसलाई उज्यालो मन पर्दैन,
किनभने प्रकाशका किरणले उनिहरुका आँखालाई
तिरमिर-तिरमिर पार्छ,
त्यही भएर,
उनिहरुलाई गुफा नै ठिक छ, अँध्यारो नै ठिक छ ।
हिजो जेलमा कैदी भएर बस्दै गर्दा नै
बिर्सिएछन् उनिहरुले उज्यालोमा आफूलाई बानी पार्न ।
उनीहरुका लागि गुफाभित्र देखिने छाँया नै सत्य छ,
त्यही नै गुफा-साम्राज्य भित्रको असली पात्र छ
जुन यता उता गर्छ अँध्यारोमा !
हामीलाई अध्यारो मन पर्दैन, गुफा मन पर्दैन ।
उनिहरुलाई उज्यालो मन पर्दैन,
गुफा बाहिरको संसार मन पर्दैन।
उज्यालो मन पराउने पात्रहरु हाम्रा लागि सत्य हुन
तिनीहरुका लागि भ्रम हुन
हाम्रा लागि आँखाका ज्योती हुन
तिनका लागि आँखाका तिरमिर हुन ।
गुफा भित्र उनीहरुकै छाँया बनेर हिड्न नसक्ने
हामी उनीहरुका प्रमुख सत्रु हौ ।
कस्तो बिडम्बना हामी छाँया बाट निर्देशित हुनुपर्ने ,
उनीहरुकै छायाँ बनेर हिड्नु पर्ने,
उज्यालो देखेर पनि, गुफा बाहिर बसेर पनि
कहिल्यै उज्यालो देख्न नचाहनेबाट संचालित हुनुपर्ने !
गुफा भित्र बस्नेलाई न्यायको के कुरा भो ?
गुफा भित्र कुलमान उज्यालोको के कुरा भो ?
गुफा भित्रकालाई गोबिन्द के सि को के अर्थ ?
गुफा भित्रकालाई निर्मला बलात्कारको के अर्थ ?
गुफा भित्रकालाई नवराज बिक हत्याको के अर्थ?
म सोच्दैछु कहिले पुग्ला त्यहाँ उज्यालो जहाँ
उनिहरुका आँखा बानी नपरुन्जेल केही समय
तिरमिराउने छन र बानी परेपछि धन्य हुनेछन ?
कहिले भत्किएला त्यो गुफा, जहाँ छायाँहरु हराउनेछन ?
Written by Tulasi Acharya
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस