पैतालिस वर्षदेखि लालपूर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजारभन्दा बढी स्थानीयवासीले नापी र मालपोतको फिल्ड कार्यालयमा निवेदन दर्ता गरेका छन् । सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि लालपूर्जा उपलब्ध गराइदिन फिल्ड कार्यालयमार्फत निवेदन दर्ता गरी लालपूर्जा उपलब्ध गराइदिन माग गरेका छन् ।
करीब एक वर्षअघि जिल्लास्थित मालपोत र नापी कार्यलयबाट फिल्ड कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाए पनि विविध कारण देखाई प्रक्रिया पुनः सञ्चालन नगरेपछि अन्योलमा रहेका स्थानीयवासीले कर्मचारीको उपस्थितिमा निवेदन दर्ता गराएका हुन् । साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) प्राप्त गर्न सकेका छैनन् ।

नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सञ्चालन नगर्दा अन्योलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो । “कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया शुरु नगरी लम्ब्याइएपछि दुवै वडाका फिल्ड कार्यालयमा लालपूर्जा उपलब्ध गराइपाउँ भनी निवेदन गरिएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिँडेका छन् ।
नापी कार्यालयका अनुसार हालसम्म ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ । कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको बताउनुभयो । “मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपूर्जा दिन सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल दुवै वडामा तेस्रो पक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ ।
नापी कार्यालयले असहयोग गर्दा प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । “मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनु पर्ने हुन्छ”, नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानेले भन्नुभयो । उहाँका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय झिकाइएको छ ।
मालपोत कार्यालय प्रमुख लोकबहादुर भण्डारीले भने भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताउनुभयो । उहाँले उच्चस्तरीय विशेष आयोग विना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताउनुभयो । उहाँले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताउनुभयो ।
स्थानीयले अन्तिम जोताहाको आधारमा पुर्जा पाउनु पर्ने हाम्रो माग राख्दै आएका छन् । घटना विवरणअनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएको थियो । विसं २०३२ मा विवाद भएपछि विसं २०३५ मा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि जाँदा सिमानाको विषयमा दुई गाविसबीच झगडा भएपछि लालपूर्जा वितरणको काम रोकिएको भुम्लु गाउँपालिका–८ का वृद्ध चित्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि २०७१ माघ महिनामा नापी कार्यालयले गाउँमै स्थानीयको निवेदन सङ्कलन र जग्गाको फिल्ड निरीक्षण, कित्ताकाट, जग्गाको फिल्ड–बुक कायम गर्दै लालपूर्जा तयार पार्ने काम शुरु गरेपनि विविध कारणले समस्या समाधान गर्न भने सकेको थिएन । कार्यालयले विसं २०३२ मा तयार गरेको नापी–नक्सा तथा फिल्डबुकअनुसार हाल अधिकांश जमीनमा भोग गर्ने व्यक्ति र क्षेत्रफल फरक रहेको जनाउँदै आएको थियो ।
विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ । नापी कार्यालयले भने कार्यालयले स्थानीयले पूर्जाको लागि निवेदन दिए पनि अधिकांश निवेदनमा जग्गाको फिल्डबुकसँग जोडिने कुनै प्रमाण नभएको जनायो ।
RSS
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com