हनुमानढोका दरबारको ढुकुटी घर सर्बसाधारणका लागी खुला गरियो

काठमाडौँ । राणाकालीन समयमा महत्त्वपूर्ण बहुमूल्य सामग्री राख्ने गरिएको हनुमानढोका दरबारको ढुकुटी भवन सर्वसाधारणका लागि खुला गरिएको छ । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका शाहकालीन बहुमूल्य गरगहना, सिक्का तथा मल्लकालीन सामग्रीसमेत ढुकुटीमा प्रदर्शनीका लागि राखिएका छन् ।
सो ढुकुटीमा शाहकालीन बहुमूल्य गरगहना र सिक्कासँगै राजतन्त्र रहँदा राजपरिवारको स्वामित्वमा रहेका दरबारका सामग्री पनि प्रदर्शनीमा राखिएका छन् । वृत्ताकार छानोसहित नवशास्त्रीय शैलीमा निर्माण गरिएको उक्त भण्डारण राणा प्रधानमन्त्री जंगबहादुर राणाले ११ करोड रुपैयाँ राख्नका लागि बनाएको अनुमान गरिन्छ ।
हनुमानढोका दरबारमा मल्लकालदेखि नै ढुकुटी रहेको ऐतिहासिक तथ्य रहे पनि जंगबहादुरले बेलायत भ्रमणपछि उतैको संरचनाको सिको गरेर उक्त भवन निर्माण गरेको हुन सक्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले बताए ।
भवन जीर्ण भएपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले यसको पूर्वतर्फ अर्को भवन बनाई यहाँका खजाना स्थानान्तरण गरेका थिए । भवनलाई जीर्णोद्धार गरी २०७२ सालअघि नै प्रदर्शनी कक्षका रूपमा सञ्चालन गर्ने योजना भए पनि भूकम्पका कारण ढिलाइ भएको खनालले बताए ।
राजतन्त्र अन्त्यसँगै सरकारको स्वामित्वमा आएपछि गृह मन्त्रालयले हेरचाह अड्डालाई ती सामग्री हस्तान्तरण गरेको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस