काकाकुल बनेको मेरो टोड्के र यसका कथा

समयको अन्तरालसँगै तिर्खाएर काकाकुल बनेको टोड्केले बोलाईरहेको छ ।


तनहुँ कै एक सुन्दर बस्ती लाग्छ भिमाद नगरपालिका ८ टोड्के । अधिकाँश मानिसलाई कतै सुनें सुनें जस्तो लागेपनि कमैलाई थाहा छ टोड्के र यहाँका नागरिकहरुको कथा तथा दैनिक भोगाईहरु । लुकेर बसेको अर्थात आफ्नै परिचय खुल्ला रुपमा दिन नचाहेको जस्तो लाग्ने टोड्के प्राकृतिक बन जंगल र उर्वरभूमिले भरिएको ठाउँ हो ।

विगत वि.स. २०५० सालसम्म सवैलाई प्रिय र रमाइलो लागेको यो गाउँ अहिले एकाएक बन–जंगलमा परिणत भएको छ । मुस्किलले ३५ घरधुरी एकठाँउमा मिलेर बसेको यो गाउँ पहाडिया संस्कृति जोगाउने प्रमुख थलोको रुपमा परिचित थियो ।

यहाँका तत्कालिन युवायुवतिहरुको मानसपटलमा अझै पनि ति रोधिघर र मादलुको तालसँग बैंशमा साटिएका माया पिरतीका रमाइला किस्साहरु ताजै छन् । उमेर र समय अनि अवस्था सधै उस्तै कहाँ रहन्छ र यही माटोको सुगन्ध र हिलो मैलोको साथसँगै छुटेका मनहरु अहिले संसारका अधिकाँश देशमा पुगेका छन् ।

गाउँको अवस्था विकुल्कै परिवर्तन भएका छन् । खटिरा आएर विरामी पर्नेको अनुहारबाट निस्किएका पाप्रा झै घरका भित्ताहरु कुरुप बनेका छन् । कोरोनाका कारणले प्राण त्यागेका विरामीझै यहाँका ति सुन्दर महलहरु पलपलमा ढलिरहेका छन् । उर्बरभूमि बाँझिएर बनमाराले स्थान लिएको छ । गाई, बाख्रा र भैंसी बाँध्ने हाम्रा गोठहरुमा आजभोलि त जंगली जनावरहरु बस्न थालेका छन् ।

पानि लिन जाँदा बाटो-बाटोमा टिप्न पाइने काँडे धनियाँ र त्यो आँपको रुख अझै त्यस्तै छ, तर टिपेर खाइदिनेहरु छैनन् गाउँमा । एउटा पुरातात्विक महत्व बोकेको कोहोलडाँडाका कोहोल ढुँगामा पनि खिया लागेको होला । झाडीले ढाकेको होला । अनि कालो पाटीमा कखरा पढेको त्यो स्कुल पनि बन्द भएको छ । किन नहोस पढ्न जाने विद्यार्थी नै नभएपछि अनि विद्यालयका पक्षमा लागेर बोल्ने कोही व्यक्ति नभएपछि । भाईबहिनीको स्कुल जाने बाटो पनि ओरालो लागेको छ । हामी त उकाली चढेर जाने गर्थेउ ।

हामी लाखे हेर्न जाने छिमेकी गाउँमा त कस्तो मज्जाले मोटर गाडी चल्ने भईसकेछ तर पनि भौगोलिक रुपमा मिलेको मेरो गाउँमा अझै राम्रो सडक पुग्न सकेको छैन । केही दुरी हिडेरै भिमाद बजार र खैरेनीटार शहरमा आउने मेरा मान्छेहरू त गाउँमै गाडी चढेर बजार झर्न पाउदैनन् कि जस्तो लाग्छ ।

यस क्षेत्रकै कर्णाली जस्तो लाग्ने मेरो गाउँमा अझै पनि नेताको नजरिया नपुगेको देख्दा उदेक लाग्दछ । मत माग्न समेत जादैनन अचेल, नजर किन पुथ्यो र ? हाम्रा मान्छे त सोझै रहेछन । घण्टौँ हिडेर पनि तिनै नेतालाई मत दिन जाने ।

समय त फेरियो, तर त्यो सँगै यहाँका अवस्था झन-झन दयनीय बनेका छन् । कहिल्यै नफेरिएका समस्या मध्ये एउटा समस्या हो छाङ्गादीको खानेपानी । बर्खामा धमिलो आउने पानी कहिलेकाँही त अमिलो बनेर आउने गर्छ धारामा । खै के के मिसिएर आउँछ कुन्नि ।

एक विहान गाउँका दाईसँग भेट भयो । सामान्य हालखबर बुझेपछि फेरी सुरु भयो त्यहि पानीको कहानी । गाउँमा धमिलो रंगको अमिलो पानी खानुपर्ने मेरा मान्छेहरुको कहानीले मनै कस्तो अमिलो बनायो । सुखको खोजीमा गाउँ छोडेपछि हाम्रा गाउँ, हाम्रो बारी र बन जंगल छिमेकीले गौचरण बनाएका छन् ।

परिवर्तनको आशसँगै गाउँको माया चटक्कै मार्न नसकेका ति हाम्रा मान्छेका धारामा आएका पानी स्थायी रुपमा कहिले आउँछ कुन्नी ? शासक र सामन्तको पञ्जाबाट मेरा मान्छेहरुले कहिलेबाट दवाव मुक्त भएर पानी पिउन पाउँलान् ? अव आफ्नै अग्रअधिकार प्रयोग गरेर पानी आफ्नै बनाउनुपर्ने दायित्व शिरमा थपिएको छ ।

अन्यायको विरुद्ध बोल्नुपर्ने दिन कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो ? यही गाउँको ढुँगा र माटोसँगै बालापन विताएकाहरु अब कहिले गाउँ फर्किन्छन कुन्नि ? संसारको जुन कुनामा रहे पनि नाभि गाडिएको ठाउँ त सवैका लागि प्यारो लाग्दो रहेछ ।

मन नछोडिए पनि बाध्यतासँगै तन छुटेर विराना बनेकाहरुले विहानी घामको पहिलो झुल्कोसँग माछापुच्छ्रे हिमालसहित टलल टल्किएका हिमशृङ्खलाले नछोड्ने साथबाट केही सिक्नु जरुरी छ । जहाँ रहे पनि गह्राबाट पानी बोकेका, मेलापात गरेका र माहारा जाँदाको झल्कोहरु अझै पनि आउँछ । गाउँका मानिस, त्यो चिसो हावा, पानी र वातावरण कसरी विर्सन सकिन्छ होला र !

अब हामी सबै फर्केर आफैँ जन्मेको ठाउँको माटो चलाउन, अनि त्यहो गोरेटो र बाटोहरु बनाउन आवश्यक छ । बर-भञ्ज्याङ र बाटाका चौतारीहरुले अझै पनि हामीलाई कुरीरहेका छन्,। समयको अन्तरालसँगै तिर्खाएर काकाकुल बनेको टोड्केले बोलाईरहेको छ । आउनुहोस हामी सबै मिलेर, फेरी मेलापातसँगै गएर ‘फर्क मुग्नाली मेलापात गरेनी खान पुग्लानी…‘ गित सुन्दै गाउँको मुहार फेरौँला ।

(लेखक विश्वकर्मा भिमाद ८ टोड्केका स्थानीय समेत हुन् । उनी रेडियो नेपालसँगै विभिन्न एफएम र पत्रपत्रिकामा आवद्ध छन् ।)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope