साँढेका सन्तानहरूको साझा बयान (कविता )


मेरो प्रिय एउटा साँढे छ
त्यसले जे गरे पनि
मलाई औधी मन पर्छ ।

त्यो पापधर्म केही भन्दैन
लाजसरम केही मान्दैन
नाङ्गै हिड्छ
विधि भन्दैन, विधान भन्दैन
आमा भन्दैन, मर्यादा भन्दैन
सबलाई कुल्चिहिँड्छ
नीति मान्दैन नियम मान्दैन
सीमा राख्दैन साँध राख्दैन
केवल डुक्रिरहन्छ र गरिरहन्छ बल मिच्याइँ
मेरो प्रिय एउटा साँढे छ
म त्यसलाई जोदाहा ठान्छु, बहादुर ठान्छु
त्यसले जे गरे पनि
मलाई औधी रमाइलो लाग्छ

त्यो मनलाग्दी गर्छ
नैतिकता मान्दैन, मूल्य मान्दैन
मनलागे खुट्टा बजार्छ
दाह्रा किट्छ, फाँफाँफुँफुँ गर्छ
जहाँसुकै सिगौँरी खेल्छ, बार भत्काउँछ
दाम्लो छिनाल्छ, कानुनको अङ्कुश मान्दैन
मन लागे जति चाहिन्छ भन्छ
मन नलागे ‘त्यो पर्दैन’ भन्छ
मेरो प्रिय एउटा साँढे छ
त्यसले जे गरे पनि
म बिछट्ट मन पराउँछु
म त्यसलाई मेरो नेता भन्छु

यसले घर भत्काउँछ
पराईलाई खुसी बनाउँछ
देश बेच्छ र कमिसनको बन्डा लाउँछ
केही गाईहरू खुसी हुन्छन्
हरियो घाँसको हिस्सा थापेर
केही स्यालहरू पछि लाग्छन्
झर्ला र खाउँला भनेर
यसले जनादेश विघटन गर्छ
र जनादेशको हुङ्कार गर्जन्छ
यसले संवैधानिक मर्म विघटन गर्छ
र संवैधानिक सर्वोच्चताको हुङ्कार गर्छ
मेरो प्रिय एउटा साँढे छ

मेरो देशमा संवैधानिक सर्वोच्चताका लागि
एक थान संविधान पनि छ
मेरो देशमा कानुनको शासनका लागि
केही थान संवैधानिक नियोगहरू पनि छन्
मेरो देशमा जनताको अभिमतबाट कानुन बनाउन
एक संघीय संसदको व्यवस्था पनि छ
तर ऊ ती कुनैलाई पनि मान्दैन
सके तिनलाई कब्जा गर्छ नसके विघटन गर्छ
संसद विघटन गर्छ र अध्यादेशले शासन गर्छ
र पनि यो साँढे मलाई प्रिय छ
यसले जे गरे पनि मलाई औधी मन पर्छ

त्यो जनमतलाई टेर्दैन
जननिर्वाचित संसदलाई टेर्दैन
पार्टी कमिटी टेर्दैन
पार्टी विधान टेर्दैन
ती सब विघटन गरेर त्यसले
बनाएको छ भजनमण्डली र भारदारी सभा
र मारिरहेको छ आँखा चिम्लेर बुर्कुसी
म बजाइरहेको छु आँखा चिम्लेर ताली
त्यसलाई कसैले अङ्कुश लगाउन खोजे
मलाई छटपटी हुन्छ
उकुसमुकुस हुन्छ
त्यसलाई संविधानले बाँधे
संविधान नै विदेशीले बनाएको जस्तो लाछ
कानुनले बाँधे
कानुन नै च्यातिदिउँ जस्तो लाग्छ
गैरकानुनी कार्य गर्न अदालतले रोके
न्यायाधीशलाई नै धारे हात लगाउँ जस्तो लाग्छ
त्यसलाई मनलाग्दी अत्याचार गर्न नदिनु
देशै सिध्याउनु हो जस्तो लाग्छ
मेरो प्रिय एउटा साँढे छ
त्यसलाई म बा भन्छु
त्यसले जे गरे पनि
मलाई औधी मन पर्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope