श्रीमान् ! मलाई रन्डो बनाइयो (कविता)
म एक स्वतन्त्र पुरुष
हरेक समय निश्चल हावासँग
कलिलो घामसँग परिहास गर्ने
बेइमान फेला परेपछि
श्रीमान् मलाई रन्डो बनाइयो ।
फक्रन लागेको सेतो गुलाफ थिएँ म
हरेक नयनले आदर्श ठान्थे
सङ्लो पानी जस्तो इशारा हुन्थे
चन्द्र ग्रहण नजरले
मलाई रन्डो बनाइयो, श्रीमान् ।
मैले प्रेमलाई गङ्गाको शालीग्राम जस्तो उभ्याएँ
प्रत्येक श्वास मैले भित्रसम्मै लिएँ
उसैको जोवनको आँगनैआँगन हिड्ने
पछ्यौरी समाउँदै उसैको परेलीको भित्ता हुँदै
उसैका ओठहरूको कान्लैकान्ला
शीरमाथिको दुबो सुम्सुम्याउँदै
तल गल्लीसम्म नितान्त म एक्लै आएको थिएँ
श्रीमान्
सम्भोगको नाममा मलाई रन्डो बनाइयो ।
कस्सम होला
पीपलबोट छोएर भन्छु
बरू देउराली पनि भाक्छु
मैले छल्नुपर्ने कुनै कुरै छैन
चिचिन्डोमा रक्सी बोकेर
दुईचुला खोज्दै भौतारिँदै
नैवेद र न्वाागी चढाउँछु
सत्य होला श्रीमान् मलाई रन्डो बनाइयो ।
एक्लोपनमा बास्ना मेटाउन नआएका कहाँ हो र
प्लटिङ गरेको जग्गा जस्तो
कित्ता काटेर मेरो यौवनको मोल तोकियो
अनि भनियो तपाईं नै हो मेरो स्थायी जिन्दगी
कृत्रिम प्रेमको बीज छोडेर
श्रीमान् मलाई रन्डो बनाइयो ।
मैले कुनै झूट बोलेको छैन श्रीमान्
मसँग त्यस्तो लिखित दस्ताबेज त छैन
बरू हजुरको समय मिल्छ भने
कोशीको बगरमा
एउटा ढुङ्गा राखेर
अलिकति सिम्रिक
एक मुठी सालधूप
सिमली सेउली
बाबियाको कुचो
मुजुरको प्वाँख
पानसुपारी भेटीसहित बसौँ
बुद्धको शीर छोएर
काली माई भाकेर
मुन्धुम डाकेर
चिहानको माटो
टोटेलाका फूल चढाएर
सत्य बोलौँ श्रीमान् ?
तपाईंको इजलास अगाडि म उभिएको छु
सेतो दौरा सुरुवाललाई हजुरले
कालो कोटले छोपे जस्तै
मैले पनि पटकपटक रन्डोपन छोप्न खोजेकै हो
हजुरले चश्माको माथिल्लो भागबाट चिहाए जस्तै
मलाई पनि माथिल्लो भागबाट नै छोएर रन्डो बनाइयो ।
मेरो परिस्थिति बुझेर न्यायको ढोका खोलिदिनुस्
म योगी, जोगी, ध्यानी बन्दिनँ श्रीमान्
म, म नै हो
श्रीमान्
मलाई रन्डो बनाउनेलाई कारबाही गरियोस् ।
( प्रदेश नं १, सुनसरीका कवि नवराज मैनाली अत्यन्त सक्रिय सामाजिक अभियन्ता पनि हुन्। उनको ‘नयाँ युगको खोजी’ कविता कृति प्रकाशित छ। )
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस