हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट


काठमाडौं, २१ जेठ । निर्देशक सरोज पौडेलले मध्यपश्चिमको प्युठानमा स्कुल जीवन बिताए । बाँकी शिक्षादिक्षा दाङमा लिए । गाउँमा रहँदा उनले चौतारीमा भेला हुने बुढापाका हुन् या गाउँका भद्रभलाद्मीबाट ‘हेमन्त’का कथा धेरै सुने ।

 

‘स्कुल पढिरहँदा गाउँमा हेमन्त भन्ने पात्रको बारेमा धेरै कुरा सुन्थें । चौतारीमा होस् या चिया पसलमा हरेक व्यक्तिको गफको विषय नै हेमन्त हुन्थ्यो । हेमन्तसँग जोडिएका केही रोमान्टिक शैलीका घटना रहेछन्, जुन सुन्नेका लागि कौतुहलपूर्ण थियो’, सरोजले भने, ‘ठूलाहरुले चिया र चुरोटको स्वादमा गफ गर्ने हेमन्तलाई हामीले त देखेनौं । तर उसकै कुरा बढी गरिरहँदा मेरो दिमागमा पात्र जन्मियो । त्यसपछि बाटोमा हिडिँरहँदा अन्य पात्रहरु पनि जोडिए । अनि कथा विस्तार भयो ।’

 

हेमन्तको कथा सुनेपछि उनले ‘मिस्टर हेमन्ते’ नाम लिएर तीन महिनामा स्क्रिप्ट पूरा गरे । तर, फिल्म निर्माणको अवस्थामा आइपुग्दा नाम फेरियो । ‘के त्यही हेमन्तकै नामलाई लिएर फिल्म बनाउने त भन्ने साथीभाइहरुसँग सल्लाह र बहस भयो । त्यसपछि हामी लोकेसन हेर्नका लागि हेम्जाकोट पुग्यौं’, सरोज भन्छन्, ‘कोट भनेको ऐतिहासिक स्थल र नेपालको मौलिक नाम हो । अनि त्यही हेम्जाकोटलाई लिएर फिल्म किन नबनाउने भन्ने निष्कर्ष पुगेपछि वेलकम टु हेम्जाकोट नाम राख्यौं ।’ यो फिल्म यही शुक्रबार अर्थात् २६ जेठबाट प्रदर्शनमा आउँदै छ ।

 

सुरजले ‘वेलकम टु हेम्जाकोट’लाई साधारण सामाजिक कथा मान्छन् । चार युवापात्रको वरपर घुम्ने फिल्मले सबै घरमा हुने सबै किसिमका आफ्ना समस्यालाई चित्रण गर्ने उनको दाबी छ । ‘बेरोजगार चार साथीका जीवनयापन गर्ने शैली र आफ्ना सोच छन् । कोही विदेश जान चाहन्छन् । कोही कपडा सिलाएर बस्छन् । कसैको ऋण लिएर तामझामसहित बिहे गर्ने, अनि बिहे गरेपछि ऋण तिर्नकै लागि विदेश जाने सोच छ’, सुरज भन्छन् । उनले फिल्ममार्फत समावेशी समाजको परिकल्पना गरेको बताए ।

 

फिल्ममा अभिनेता विनोद न्यौपानेले हेमन्तको भूमिका निर्वाह गरेका छन् । ‘हेमन्त गाउँको बेरोजगार युवा हो । जो धेरै पढेको छैन । गाउँमा हल्लाखल्ला गर्दै हिँड्छ । ऊ आफैंमा हाउडे छ । घरका मान्छेले उसलाई जहिल्यै पैसा कमाए, बिहे गर, विदेश जा भनिरहन्छन्’, भूमिकाबारे विनोद खुल्छन्, ‘केही उपाय नलागेपछि ऊ विदेश जाने तयारीमा हुन्छ । तर विदेश हिड्ने क्रममा बीचमा ट्वीस्ट निस्कन्छ । त्यही ट्वीस्टमा फिल्म घुम्छ ।’

 

फिल्ममा विनोदको साथीको भूमिका देखिएका बुद्धि तामाङ पनि बेरोजगार नै छन् । ‘मेरो चरित्र विवाह अगाडि गाउँमा बरालिने र बिहेपछि सुध्रिने चरित्र छ । यो चरित्र समाजमा अझै पनि देखिन्छ’, उनी भन्छन् ।

 

फिल्मकी प्रमुख अभिनेत्री अम्बिका तामाङले आफूले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेकी गाउँको साधारण केटीको भूमिका निर्वाह गरेको खुलाइन् । ‘फिल्ममा म अलिक रिसाहा स्वभावकी छु’, अम्बिकाले भनिन् ।

 

तेजप्रसाद दाहाल, सरोजकुमार पुर्बे, सुमन खड्का र बाबुराम कार्की निर्माता रहेको फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा, प्रेविल कँडेलको अभिनय छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope