फलाँस
दुवैले सम्झिन लाख प्रयत्न गरे तर सकेनन्— तास ल्याउने, फिट्ने, कैँची लगाउने, कटफोर गर्ने र बाँड्ने चाहिँ को पो थियो ?

खासै उद्यम नभएकाले समय बिताउन उनीहरू खेलमा जुटे । ‘कलब्रेक’बाट खेल शुरू भयो । चार जना मात्र खेल्न मिल्ने र पाँच राउन्डसम्म खेल लम्बिने भएकाले त्यसलाई स्थगित गरियो । दोस्रो खेलको रूपमा ‘दहलमारा’ थालियो । त्यसले मनोरञ्जन नदिएको ठहरसँगै उक्त खेल पनि स्थगनमा पर्यो । ‘गुल्लुचोर’ खेलिन थालेसँगै मनोरञ्जन लिनेहरू हौसिन र जिस्किन थाले । गुल्लुचोरको अनुहार हेर्न लायकको बन्न थालेपछि त्यो खेला पनि रोकियो । त्यसपछि उनीहरू ‘ट्वान्टी नाइन’मा जुटे । त्यो पनि त्यति जमेन । खेल्न चाहनेको संख्या बढ्नासाथ छोटो, रमाइलो र धेरैको सहभागिता हुने खेलको चर्चा भयो । ‘किटि’ भीडबाट कसैले भन्यो । ‘जुटपत्ति, ठीक’, अर्को स्वर सुनियो । ‘धुम्बल खेलौँ’ कसैले सुझायो । अन्ततः ‘फलाँस’ खेल्न सबै राजी भए ।
खेल पुनः शुरू भयो । सबैले बोट राखे । ‘दुक्का जुट’ पर्नेले सबैभन्दा पहिले हाप्यो । ‘एक्का फलाँस’वालाले एकपटक चलेर हाप्यो । ‘जग्गर डाप’ पर्ने मल्याकमुलुक गर्दै थियो तर खै के बुझेर हो दुई पटक चलेपछि गलेझैँ उसले पनि हाप्यो । ‘ल्याङ्डी डाप’वालाको फार्तिफूर्ति धेरैबेर टिकेन । तीनपटक चलेपछि उसले पनि त्यसै गर्यो । ‘चौका टनेला’ पर्नेले चारपटकसम्म बोट थप्यो तर हेर्दाहेर्दै उसले पनि खेल्न चाहेन र हाप्यो । बाँकी रहे मात्र दुई खेलाडी र खेल रोमाञ्चक मोडमा पुग्यो ।
‘आम्मामामा… चल् है चल्’ एउटा खेलाडीलाई उकास्ने मुखर भए ।
‘ओई… सो नगर है’ अर्को खेलाडीलाई सोडा लगाउने सल्बलाए ।
खेल लम्बियो । आवेश र आवेगको कारण यन्त्रवत् भइसकेका दुवैले आफैँमाथि नियन्त्रण राख्न सकेनन् । बोट थुप्रियो । खल्ती खोक्रिएको छनक पाएको पहिलो खेलाडीले ‘सो’ गर्यो । दोस्रो खेलाडीलाई पनि ‘सो गर्न’ कर लाग्यो । पल्टिए— ‘मिसि टनेला’ र ‘बासा टनेला’ । खेलाडीले एक आपसमा हेराहेर गरे । दुवैले सम्झिन लाख प्रयत्न गरे तर सकेनन्— तास ल्याउने, फिट्ने, कैँची लगाउने, कटफोर गर्ने र बाँड्ने चाहिँ को पो थियो ?

परिचय: अनुसिर्जना, सम्पादन र अध्यापनमा सक्रिय मुक्तिनाथ घिमिरे मूलतः समीक्षक र लघुकथाकार हुन् । उनको प्रयोगधर्मी लघुकथा सङ्ग्रह ‘२१६६’ प्रकाशित छ ।
यो पनि पढ्नुहोस्
नेपाल आमा भन्छिन् (शनिबासरीय विशेष कविता)
गिनिज रेकर्डमा नभएको त्यो नाम (संस्मरण)
अचम्मका ती अन्तर्वार्ता (संस्मरण)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस