परिचित पौड्यालको “अपरिचित अनुहार”

“अपरिचित अनुहार” महेश पौड्यालको सृजना हो । पौड्याल स्वयम् चाहिँ मेरो हेराइमा आख्यानकारभन्दा कवि, समालोचक, अनुवादक र प्राध्यापक बढी हुन् । धेरै वटा विधामा समवेत कलम चलाउने पौड्यालले पुस्तक प्रकाशन हुनुअघि “आफ्नै कृतिमाथि कतिचोटि समीक्षा गरे होलान्” भनेर विमोचन कार्यक्रममै आख्यानकार कृष्ण धरावासीले प्रशंसात्मक ठट्यौली गरेका थिए । मैले भने त्यो कथनलाई गम्भीरताका साथ लिएँ किनकि पौड्यालका लागि त्यो वाक्य चुनौतीको संकेत पनि थियो । त्यति धेरै विधामा उत्तिकै अब्बल पौड्यालको आफ्नै कृतिमा कसैले खोटैखोट देखाइदियो भने नेपाली साहित्यको समालोचकीय आकासमा पौड्यालको आधिकारिकता के हुने ? तर “अपरिचित अनुहार” पढिसकेपछि म यो निष्कर्षमा पुगेको छु कि उनले अब आख्यानकारको परिचयात्मक फेटा मज्जाले पहिरिएका छन् । उनी कथामा शसक्त छन्, बुलन्द छन्, विचारशील छन्, विश्लेषणात्मक छन् । मलाई लाग्छ यी विशेषता सामयिक कथामा हुनुपर्ने वाञ्छित गुणहरू हुन् । यद्यपि कहीँ कतै उनी पात्रको चरित्र चित्रणमा चुकेका छन् । तर मलाई लाग्छ संसार आफैँमा पूर्ण छैन । त्यही भएर उनका कथामा पूर्णता खोज्नु मुख्र्याईं हो ।
१८ वटा कथा सङ्गृहित “अपरिचित अनुहार” कृतिको शीर्षक कथा यसै भित्रको एउटा कथा हो । नमुना कथाहरूमध्ये एक । कथाको सुरुवातले अर्नेस्ट हेमिङ्ग्वेको चर्चित उपन्यास “ओल्ड मेन एन्ड द सी” को बूढो माझीको बिम्बलाई पाठकको प्रभावमा ल्याए पनि पढ्दै जाँदा यस कथाको अन्त्यले हामी सबैलाई संवेदनशील बनाउँछ । यो कोशी नदीमा बगिजाने निर्दोष बालकहरूको पनि कथा हो । परिचित अनुहार अपरिचित भएर गएको देख्नु पर्दाको पीडा हो ।
“बार्दलीको एउटा अनुहार” अपाङ्गता भएका व्यक्तिहरू र खासगरी महिलाप्रति दर्शाइएको गहिरो सहानुभूति हो । साँच्चै मन छुने र थाहै नपाई पाठकको आँखा रसाउने ग्लिसिरिन छ यस कथामा । तर यो कथाको कमजोरी भनेको पात्रको चरित्र चित्रण पर्याप्त छैन । त्यो अपाङ्गता भएकी महिला कस्ती देखिन्थिन्, उनका क्रियाकलाप, हाउभाउ कस्ता थिए ? कथाकारले सीमान्तकृत वर्गको सवाल उठान गर्न खोजेका छन् तर यस कथामा अझै पनि अपाङ्गता भएकी महिलाको आवाज बाहिर आउन सकेको छैन । यो कथामा उनी एउटा वस्तु मात्रै भैरहिन्, कसैद्वारा संचालित हुनुपर्ने । उनको वैयक्तिक स्वत्व खोई ? यदि कथाकारले उनको स्वत्वलाई बाहिर ल्याएर देखाउन सकेको भए कथा अझ शसक्त हुने थियो ।
तर कथाकारले यसको सम्पूर्ण क्षतिपूर्ति लगत्तै आउने अर्को कथा “मिर्ग नयनी”मा तिरेका छन् । यो कथाले गजबको एउटा चेतना दिएर जान्छ । यो कथाको कथानकभित्र अरू कथानकहरू छन् एकपछि अर्को अपाङ्गता भएका व्यक्तिहरूको र तिनीहरूले पुष्टि गर्छन् अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने हाम्रो दृष्टिकोण र धारणा कति संकुचित र पूर्वाग्रही रहेछ भनेर । “अथोरिटेटिभ” न्यारेटिभबाट सुरु भएको यो कथा कसरी रसियन भाषाविद् तथा साहित्यिक समालोचक मिखाईल भाख्तिनले भनेजस्तो “पोलिपÞmोनस” अर्थात् “लिबरेटिङ्ग” हुन्छ कि हामीलाई अपाङ्गता भएका व्यक्ति स्वयम्ले नै आफू बाँचेको शरीरलाई कसरी हेर्छन् त्यो थाहा हुन्छ । यस्ता कथाहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि बनाइने नीतिका लागि पनि उल्लेख्य भूमिका निर्वाह गर्छन् ।
“उपहार” छोटो, मीठो छ र यस कथाको अन्तिम हरफले अमीट छाप छोडेर जान्छ “किकर” जस्तो । पत्रकारिताको भाषामा किकर भनेको लेखको अन्तिममा पाइने “पोइग्नेन्ट रिभिलेसन” हो । “आहा, यो हो नि उपहार” मैले त्यसै भनेँ मनमनै ।
कतिपय कथाभित्रका विचारहरू यति महत्वपूर्ण र मन छुने छन् कि तपाईं त्यसलाई “अन्डरलाइन” नगरिरहन सक्नु नै हुन्न । जस्तै, कथा “आवाजहरू” का केही हरफहरूका दृष्टान्त— “यी मान्छेका आवाज जीवनका द्योतक हुन् । आवाज सुकेको दिन जीवन पनि सुक्छ । अनि न तपाईंको कथाको कुनै अर्थ हुन्छ, न…… हामी जीवित छौँ किनकि हाम्रा वरिपरि आवाजहरू छन् ।”
“बगर” मा एउटा मीठो र गतिलो पाठ छ कि कथित कुरुपताभित्रको संवेदना बुझ्दैन मानिस । त्यो भन्दा ठूलो कुरुपता के हुन्छ ? अग्लेहरूलाई बुझ्न नसक्ने मानिसहरू बग्रेल्ती भेटिन्छन् यो समाजमा । यो कथाभित्रका कतिपय हरफहरू साँच्चै मन छुने छन् । जस्तो “आँखा गाडिदैमा कहाँ सुक्दो रहेछ र मुटु ? कहाँ हराउँदो रहेछ र माया?”
“चौकीभित्र र चौकीबाहिर”ले झन्डै झन्डै मलाई रबर्ट पÞ्रmस्टको “स्टपिङ्ग बाई उड्स अन अ स्नोइ इभिनिङ” कविताको स्मरण गरायो कि भावना र कर्तव्य दुवै सँगसँगै जान सक्दैनन् । यद्यपि कथाले संयोगको महत्वलाई पनि उजागर गरेको छ ।
त्यसैगरी “दुर्ग”मा भेटिन्छन् बाल मनोविज्ञानका कुरा । पाठक नै पुग्छ त्यो बालापनमा । यद्यपि अन्त्य सोचे जति रोचक र स्पष्ट भेटिएन ।
“डबल पेन्सन“ ले सहरिया र गाउँले जीवनका दुई परिवेश र तिनले दिनसक्ने खुसीका कुरालाई देखाएको छ । गाउँमा के छ जुन सहरमा छैन ? सहरमा के छ जुन गाउँमा छैन ? वास्तवमा खुसी के हो र कहाँ पाउँछ मानिसले ? एउटा मन्थन, विचार र सोचको निर्माण गर्छ यो कथाले । घोत्लिन्छ पाठक वास्तविकता र भ्रमको दुविधामा ।

“उपलब्धि” मा उपलब्धि भनेको तीनतले घरको निर्माण होइन रहेछ, व्यक्तित्व निर्माण र मान्छेले अरुसँग गर्ने व्यवहार, बोलीवचन र प्रवृत्ति रहेछ ।
“मन्दिर”ले बुवाआमाका सोच र भावनालाई छोराछोरीले बुझिदिन सक्नु कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उजागर गर्न खोजेको छ ।
“ओरालो” रित्तिएका गाउँहरूको कथा हो भने “चौतारीको भेट” मानिसका आ–आफ्ना कथा हुन् ।
“राहत” कथाले भूकम्पको कारणले मानिसमा परेको असरलाई राहतले कति पनि ढाक्न नसक्ने यथार्थलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ ।
“त्यसपछि निदाइन बहिनी” को शीर्षक त अझ मीठो हुनसक्थ्यो यदि राखिदिएको भए “भोकको कथा ।” किनकि यो भोकको कथा हो । साँच्चै मर्मस्पर्शी छ यो कथा ।
र अन्त्यमा एउटा कथा छ “बूढो रुख र जुनेली” । यो एउटा पर्यावरणीय कथा हो । कथाकारले साँच्चै समेट्न सकेका छन् बहुआयामिक विषयवस्तुलाई जसरी कथाकार आफैँ बहुआयामिक छन् । “फोक टेल” जस्तो लाग्छ यो कथा तर अझ अंग्रेजीमा भन्नुपर्दा यो कथा “लिरिकल स्टोरी” हो । यसका केही वाक्यांश, बोलीचाली र सम्वाद दोहोरिन्छन् कवितात्मक शैलीमा र संगीतमय लाग्छन् ती । तर अझ संगीतभन्दा पनि “ब्लुज” जस्तो, दुःखका गीतजस्तो भएर कथा अगाडि बढ्छ र कथाको अन्त्य हुन्छ । पर्यावरणमाथि मानवीय अतिक्रमणलाई देखाउन खोजिएको छ यस कथामा । मानिस कसरी स्वार्थी हुँदै गएको छ भन्ने दृष्टान्त पाइन्छ यस कथामा । तर कथाकारले यसको असर फेरि “ब्याक टु ह्युमन” वा मानिसमै कसरी पर्न गएको छ भनेर देखाएको भए अझ सशक्त हुन्थ्यो कि । तर कथा भने लम्बिन्थ्यो ।
समग्रमा यस पुस्तकका कथाहरू गजबका छन् । कुनै कथाहरू पनि लामा छैनन् । छोटा छोटा कथाहरूले पाठकको मन कथा नसकिउञ्जेल तानेर लान्छन् । पाठकलाई संवेदनशील बनाउँछन् । विचार दिन्छन् । चेतना दिन्छन् । र, तपाईं भन्नुहुनेछ “क्या गजबका कथा छन् महेश पौड्यालका ।”
यी कथाहरूमा खोट लाउनु पर्ने ठाउँ नहुँदा नहुँदै पनि एउटा समीक्षकको हैसियतले केही भन्नै पर्ने हुन्छ । तसर्थ, मेरो विचारमा, यदि कथाकारले चरित्र चित्रणमा अलिक बढी दृष्टि पु¥याएको भए म ती पात्रहरूको मुटुसम्मै पुग्न सक्ने थिएँ । उसको मनोविज्ञान, मानवीय स्वभाव, उसको हाउभाउ, उसको बोली र संवाद सबै थाहा हुने थियो । यो खड्किएको कुरा सबै कथामा होइन, कुनै कुनै कथामा हो । कुनै कुनै कथामा अलिक परिवेशलाई मज्जाले खिप्न नसकेको हो कि भन्ने भान पर्न सक्छ मजस्ता पाठकलाई । “वैश्विक” र “सार्बिक” जस्ता कुनै कुनै शब्द छनोट आम पाठकले नबुझ्ने हुन् कि भन्ने पीर छ मलाई । कुनै कुनै सन्दर्भको व्याख्या चाहिन्थ्यो कि जस्तो पनि लाग्यो मलाई । “मान्छेको धोको —इन्द्रबहादुर राईको खिर हो” नबुझ्न सकिन्छ यदि राईको ‘खिर’ कथा पढिएको छैन भने । कतै कतै कथाकारले भनेका मात्र छन् देखाएका छैनन् । एउटा सूत्र छ “सो, डन्ट टेल” अर्थात् देखाउनुहोस्, भन्ने होइन ।” सान्ड्रा गर्थले आफ्नो पुस्तक “सो, डन्ट टेल” मा आख्यान लेखनमा “सो” अर्थात् दृश्यको महत्व र शक्ति देखाएकि छन् ।
अन्त्यमा, मेरो भन्नु एउटै कुरा छ— पढ्नुहोस् “अपरिचित अनुहार” मानवीय संवेदना बुझ्न, समाजको यथार्थ बुझ्न, अपाङ्गता भएका मानिसलाई बुझ्न, मानवीय अतिक्रमणले पर्यावरणमा पारेको असर बुझ्न, कथाको शक्ति बुझ्न, तपाईंभित्रको चेतनाको ढोका खोल्न र कवि तथा समालोचकले देखेका र टिपेका कथाका बिम्ब र विश्लेषण बुझ्न ।

(समीक्षक डा. तुलसी आचार्य चार वटा पुस्तकका लेखक हुन् । उनको रुचि आख्यान तथा गैर–आख्यानमा उत्तिकै छ । उनको पहिलो नेपाली उपन्यास “मोचन” प्रकाशनमा आईसकेको छ ।)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस